काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक थाइल्याण्डबीचको खेल रद्द भएको छ ।
थाइल्याण्डको चियाङमाईमा चट्याङसहितको वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो ।
नेपालले दिएको २३५ रनको फराकिलो लक्ष्यसहित आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहदा बर्षा भएपछि खेल पुन: संचालन हुन नसक्दा रद्द भएको हो ।
खेल बर्षाले रोकिनु अघि थाइल्याण्डले १ ओभर ५ बलमा १ विकेट गुमाएर रन जोड्न सकेको थिएन् । नेपालका प्रसान्त महतले थाइल्याण्डले चावात्रीचाईलाई सुन्य रनमा आउट गरेका थिए ।
खेल नतिजाविहीन बनेसंगै नेपाल र थाइल्याण्डले १/१ अंक बाडेका छन् ।
थाइल्याण्डसंग अंक बाडेसंगै नेपालले समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले ३ खेलमा ५ अंक जोड्यो । मलेसिया ४ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
आयोजक थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएको छ । थाइल्याण्डले ३ अंक जोड्दा म्यानमारले अंक जोड्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ७ विकेट गुमाएर २३४ रन बनाएको थियो ।
नेपालको उच्च योगफलमा आशिस भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै बिशाल बिक्रम केसीले ३८ रन जोड्दा दिपक बोहराले ३५ रन बनाए ।
बिशाल कुमार पटेल २८ रनमा अविजित रहदा निखिल कुमार सिंह २२ रनमा अविजित रहे ।
थाइल्याण्डका नारावेट नुन्ताराजले ३ तथा योड्साक सारानोननाकुनले २ विकेट लिए ।
साविकको विजेता समेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।