एजेन्सी । फ्रान्सका पुर्व स्टार जीन पिएरे पापिनले पेरिस सेन्ट जर्मेन (पीएसजी) का वास्तविक 'स्टार' खेलाडी केलियन एमबाप्पे रहेको बताएका छन् ।
पुर्व बालोन डी'ओर विजेता पापिनले पीएसजीका लागि ब्राजिलियन फरवार्ड नेयमार भन्दा एमबाप्पे वास्तविक स्टार र टिमको मुख्य हतियार रहेको बताए ।
‘पीएसजीको वास्तविक हतियार नेयमार हैनन्, एमबाप्पे हुन् । हामीले अनुमान गर्न सक्छौं ।’ पापिनले भने, ‘यद्दपि नेयमार एक मुख्य खेलाडी हुन् तर पीएसजीका वास्तविक स्टार एमबाप्पे हुन् । २० वर्षको उमेरमा ३० गोल गर्नु भनेको ठूलो कुरा हो ।’
५५ वर्षीय पापिनले १९ बर्षको उमेरमै विश्वकप जित्न सफल भएको र च्याम्पियन्स लिग तथा फ्रेन्च लिगमा उनले गरेको प्रदर्शनले नै एमबाप्पेले स्टार भएको दाबी गरे ।
‘उनी गोल गर्नका लागि सधै सक्षम छन् । केलियनको गुणस्तरको बारेमा केही भन्न सकिदैन, उनी असाधारण हुन्’ पापिनले थपे ।
यस्तै पापिनले एमबाप्पे अब च्याम्पियन्स लिग र बालोन डी'ओर जित्न सक्षम रहेको बताए ।
‘केलियन गोल्डेन पुस्ता हुन्, उनी सही समयमा यहाँ आइपुगे, उनी बिश्व च्याम्पियन हुन् र पीएसजीका लागि उत्कृष्ट खेलेका छन्’ पापिनले भने, ‘उनको अबको चरण च्याम्पियन्स लिग र बालोन डि'ओर हुनेछ ।’