काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डलाई जितका लागि २३५ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ७ विकेट गुमाएर २३४ रन बनायो ।
नेपालको उच्च योगफलमा आशिस भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै बिशाल बिक्रम केसीले ३८ रन जोड्दा दिपक बोहराले ३५ रन बनाए ।
बिशाल कुमार पटेल २८ रनमा अविजित रहदा निखिल कुमार सिंह २२ रनमा अविजित रहे ।
थाइल्याण्डका नारावेट नुन्ताराजले ३ तथा योड्साक सारानोननाकुनले २ विकेट लिए ।
सुरुवाती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसंग खेलिरहेको हो । आयोजकविरुद्ध मैदान उत्रदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।
नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । बुधबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
आयोजकविरुद्ध नेपाल तेस्रो जितको खोजीमा हुनेछ । र, नेपाल जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । समूह 'ए' मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल शीर्ष स्थानमा छ ।
सेमिफाइनल यात्रा लगभग पक्का गरिसकेको नेपाल समूह विजेताको दौडमा रहेको छ । आयोजकलाई हराउन सके नेपाल समूह विजेता बन्नेछ ।
यता, आयोजक थाइल्याण्ड नेपाललाई रोक्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । समूहको तेस्रो स्थानमा रहेको थाइल्याण्डले २ अंक जोडेको छ । नेपाललाई फराकिलो अन्तरले पराजित गरेमा थाइल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
यसै समूहको अर्को खेलमा मलेसियाले म्यानमारको सामना गर्नेछ । मलेसिया ४ अंक जोडेर दोस्रो र अंकविहीन म्यानमार पुछारमा छ ।