एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष चार भित्र पर्ने लण्डन क्लब आर्सनलको लक्ष्यमा गम्भिर धक्का लागेको छ । बुधबार राति घरेलु टोली उल्भ्ससंग ३–१ ले पराजित भएसंगै आर्सनलको शीर्ष चारको लक्ष्य कठिन बनेको हो ।
रुविन नेवेसले २८ औ मिनेटमा फ्रिकिकलाई सदुपयोग गर्दै उल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
मट डोहर्टीले ३७ औ मिनेटमा घरेलु टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।
डिएगो जोटाले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाएका थिए ।
पापास्ताथेपोलोसले ८० औ मिनेटमा एक गोल गर्दै आर्सनलको हार अन्तरलाई घटाउने प्रयास गरेका थिए ।
जितपछि उल्भ्सले १० औ स्थानबाट सातौ स्थानमा फड्को मारेको थियो । आर्सनल भने ६६ अंक सहित पाँचौ स्थानमा यथावत रह्यो । लण्डन क्लब चौथो स्थानको चेल्सी भन्दा एक अंकले पछाडी रहेको छ ।