एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा बुधबार राति दुई खेल हुँदैछ । बुधबार म्यानचेस्टर डर्बी भिडन्तसंगै आर्सनल र वुल्भ्सबीच प्रतिस्पर्धा हुनेछ ।
ओल्ड ट्राफोर्डमा हुने म्यानचेस्टर डर्बी रोमान्चक हुने अनुमान गरिएको छ । यस खेल सवैको प्रतिक्षाको खेल समेत रहेको छ । किनकि यस खेलले प्रिमियर लिगको उपाधिमा थप रोमान्चकता ल्याउने देखिएको छ ।
म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपधि जित्न म्यानचेस्टर युनाईटेडविरुद्धको खेल महत्वपूर्ण हुनेछ ।
पाहुना टोली सिटी घरेलु टोलीलाई हराएर लिगको उपाधिमा आफ्नो दाबेदार कायम राख्न चाहन्छ । घरेलु टोलीसंग पराजित भएमा सिटीको उपाधि होडमा ठुलो धक्का लाग्नेछ । त्यसैले घरेलु टोलीविरुद्ध सिटी दबाबमा हुनेछ ।
सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २ अंकले पछि छ । युनाईटेडलाई हराएर सिटी शीर्ष स्थानमा उक्लन चाहन्छ ।
दोस्रो स्थानको सिटीको ८६ अंक रहेको छ । एक खेल बढी खेलेको लिभरपुलको ८८ अंक रहेको छ ।
यता, प्रिमियर लिगको शीर्ष चारमा रहन युनाईटेडका लागि पनि यस खेल महत्वपूर्ण रहेको छ ।
लिगको छैटौं स्थानको युनाईटेड घरेलु मैदानमा जित निकाल्दै शीर्ष चारको होड खुल्ला गर्न चाहन्छ । युनाईटेडको ६४ अंक रहेको छ ।
यस्तै अर्को खेलमा आर्सनलले उसैको मैदानमा वुल्भ्ससंग खेल्नेछ । आर्सनल वुल्भ्सलाई हराएर चौंथो स्थानमा उक्लन चाहन्छ ।
पाँचौं स्थानको आर्सनलको ६६ अंक रहेको छ । दशौँ स्थानको वुल्भ्सको ४८ अंक छ ।