काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पुरै ३४ ओभर ५ बलमा अलआउट हुँदै १४१ रन बनायो ।
नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ तथा विशाल बिक्रम केसीले २८ रन बनाए । यस्तै दिपक बोहोरा र अर्जुन कुमालले समान १६/१६ रन जोड्दा सुवास ऐरले ११ रन बनाए ।
मलेसियाका लागि सिद्धार्थ कार्तिकले ४ तथा लुकम्यान नुर हाकिम सहरले २ विकेट लिए ।
पहिलो खेलमा म्यानमारलाई पराजित गर्दै सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा मलेसियासंग खेलिरहेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।
मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।
उपाधि रक्षा गर्ने लक्ष्य लिएको नेपाल मलेसियालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । तर , मलेसियाविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने हुनेछ ।
किनकी समूह 'ए' मा मलेसियामा लगातार दुई जित निकालेको छ । र, ४ अंक जोडेर मलेसिया समूहको शीर्ष स्थानमा छ ।
नेपाल २ अंक जोडेर दोस्रो स्थानमा छ । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई मलेसियासंगको जित महत्वपूर्ण हुनेछ । त्यसैले नेपाल मलेसियालाई हराउने लक्ष्यसहित मैदान उत्रने छ ।
यस समूहमा २ अंक जोडेको आयोजक थाइल्याण्ड तेस्रो र म्यानमार अंकविहीन रहदै पुछारमा छ ।
साविकको विजेता समेत रहेको नेपालले अन्तिम खेलमा आयोजक थाइल्याण्ड बिहिबार खेल्नेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।