एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा मंगलबार राति शीर्ष स्थानको बार्सिलोनाले डिपोर्टिभो अलाभेससंग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले अलाभेसविरुद्ध उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । बार्सिलोना र अलाभेसबीचको खेल राति १:१५ मा सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा बार्सिलोना शीर्ष स्थानको अग्रता फराकिलो बनाउदै उपाधि नजिक पुग्ने योजनामा हुनेछ । जसका लागि बार्सिलोनाले पहिलो रोजाईका खेलाडी नै मैदान उतार्ने छन् ।
बार्सिलोना दोस्रो स्थानको एट्लेटिको भन्दा ९ अंकले अघि रहेको छ । अलाभेसलाई हराएमा बार्सिलोनाले १२ अंकको अग्रता बनाउने छ ।
लिगको ३३ खेलबाट बार्सिलोनाले ७७ अंक जोडेको छ । एट्लेटिकोको ६८ अंक रहेको छ ।
यता, अलाभेस घरेलु मैदानमा बार्सिलोनालाई हार चखाउन चाहन्छ । ४६ अंक जोडेको अलाभेस बार्सिलोनालाई रोक्दै छैटौं स्थानमा उक्लन चाहन्छ । आठौं स्थानको अलाभेसले घरेलु मैदानमा बार्सिलोनालाई चुनौती दिने अनुमान गरिएको छ ।
ला लिगा अन्तर्गत नै मंगलबार हुएस्का र इबर तथा रियल भालाडोलिड र जिरोनाबीच खेल हुनेछ ।