एजेन्सी । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासबारे नसोचेको बताएका छन् । रुस विश्वकप फुटबलको प्रि – क्वाटरफाइनलबाट बाहिरीपछि बोल्दै रोनाल्डोले सन्यास नलिने र आफ्नो करियरबारे सोच्ने उचित समय नभएको बताएका छन् ।
शनिबार राति भएको खेलमा उरुग्वेसंग २—१ गोलले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो । रुस विश्वकपबाट बाहिरिएपछि बोल्दै रोनाल्डोले सन् २०२२ को विश्वकपसम्म सन्यास नलिने आशय व्यक्त गरेका छन् । रोनाल्डोले भने, 'यो भबिष्यको कुरा गर्ने समय हैन् ।'
यस्तै रोनाल्डोले विश्वकपमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए । रोनाल्डोले भनेका छन्, 'हाम्रो प्रदर्शनले हामीलाई गर्व महसुस गराएको छ । मलाई लाग्छ,हामीले उरुग्वे भन्दा राम्रो खेल्यौ, हामीले धेरै अवसर सिर्जना गर्यौं । तर, यो फुटबल हो । जसले स्कोर गर्छ उसले जित्छ । जसको कारण उरुग्वेले उत्सव मनायो ।'
३३ बर्षीय रोनाल्डोले विश्वकपमा एक ह्याट्रिकसहित ४ गोल गरेका थिए । अर्को संस्करणको कतार विश्वकपमा रोनाल्डो ३७ बर्षका हुनेछन् । कतार विश्वकपमा उनलाई उमेरले साथ नदिन सक्छ ।
तर, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डो कतार विश्वकपसम्म टोलीमा रहने र युवा खेलाडीलाई प्रोत्साहन गर्ने बताए । प्रशिक्षक सान्तोसले भनेका छन्, 'क्रिस्टियानोसंग फुटबललाई दिन अझै बाँकी छ । मलाई आशा छ, उ टिममा रहन्छ र युवा खेलाडीको क्षमता र विकासमा सहयोग गर्ने छ ।'