एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ ।
सोमबार हुने खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ । दुई टोलीबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
जयपुरस्थित सवाई मानसिंह स्टेडियममा घरेलु टोलीविरुद्ध दिल्ली सातौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
तेस्रो स्थानको दिल्लीको १० खेलबाट १२ अंक रहेको छ । दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंगको अंक बराबरी गर्न चाहन्छ । चेन्नईको १४ अंक रहेको छ ।
घरेलु मैदानमा राजस्थान चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ३ जित निकालेको राजस्थान ६ अंक जोडेर सातौं स्थानमा छ ।
राजस्थानविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना रहेको छ । शनिबार पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण दिल्लीले ५ विकेटको जित थियो ।
सन्दीपले ५ खेलमा ८ विकेट हात पारिसकेका छन् ।