एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि पक्का गरेको हो ।
दोस्रो स्थानको लिली समेत बराबरीमा रोकिएपछि पीएसजीको उपाधि निश्चित भएको हो ।
लामो समय चोटले मैदान बाहिर रहेका नेयमार मैदान फर्किएको खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।
१५ औ मिनेटमा पहिलो गोल गरेका उनले ३८ औ मिनेटमा दोस्रो र ५५ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । मोनाकोका गोलोभिनले ८० औ मिनेटमा एक गोल फर्काएका थिए ।
एम्बाप्पे एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी भएका छन् ।
एम्बाप्पेको ह्याट्रिकले नेयमारको आगमन छायाँमा पर्यो । जनवरीमा चोटको सल्यक्रिया गरेका नेयमार पहिलो पटक मैदान उत्रिएका थिए । उनी सन् २०१७ मा २ सय २२ मिलियन युरोमा पीएसजीमा अनुबन्धन भएका थिए ।
पीएसजीले पछिल्लो ७ सिजनमा छैटौ पटक लिग उपाधि उचालेको हो ।