ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा आज क्वार्टरफाईनलका अन्तिम दुई खेल हुदैछ । पहिलो खेलमा विभागीय टिम आर्मी र हिमालयन शेर्पा तथा दोस्रो खेलमा फ्रेन्ड्स क्लब र लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आर्मी र हिमालयनबीचको पहिलो खेल दिउँसो एक बजे सुरु हुनेछ । आर्मी समुह एको विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो भने हिमालयन समुह डीबाट उपविजेता बन्दै क्वार्टफाईनलको यात्रा तय गरेको हो ।
समुह चरणमा बलियो देखिएको आर्मी प्रतियोगितामा अपराजित छ । विभागीय टिमको गति र लयलाई रोक्नुपर्ने चुनौती हिमालयन शेर्पाको अगाडी छ ।
आजको विजेताले फाईनल प्रवेशकालागि मोरङ फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ । च्यासल युथ क्लबलाई हराउदै मोरङ क्लब सेमिफाईनलमा प्रवेश गरिसकेको छ ।
त्यस्तै, फ्रेन्ड्स र लुम्बिनीबीचको अर्को खेलमा अपरान्ह ४ बजे सुरु हुनेछ । ललितपुरको कुपण्डोलको क्लब फ्रेन्ड्स समुह डीको विजेताको रुपमा क्वार्टरफाईनल प्रवेश गरेको हो भने समुह एको उपविजेताको रुपमा लुम्बिनीले अन्तिम ८ मा स्थान बनाएको थियो ।
खेलको विजेताले सेमिफाईनलमा ब्रिगेट ब्वाईज क्लबसंग प्रतिस्पर्धा गर्नेछ । रमपम झापा क्लबलाई हराउदै ब्रिगेटले अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ ।