एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) तीन खेल हुँदैछ ।
आइतबार उपाधि दाबेदार लिभरपुल, म्यानचेस्टर युनाईटेड र आर्सनल लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन उपाधिको मुख्य दाबेदार क्लब लिभरपुलले कार्डिफ सिटीसंग उसैको मैदानमा खेल्नेछ । र, लिभरपुल कार्डिफलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १ अंकले पछि छ । लिभरपुललाई कार्डिफविरुद्ध जित निकाल्दै सिटीमाथि दबाब सिर्जना गर्ने मौका छ ।
लिभरपुललाई यस खेल निकै महत्वपूर्ण समेत रहेको छ । कार्डिफविरुद्ध अंक गुमाए लिभरपुललाई उपाधि जित्न कठिन हुनेछ ।
दोस्रो स्थानमा रहेको लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । सिटीको ८६ अंक छ । कार्डिफ ३१ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ ।
कार्डिफ लिभरपुललाई हराएर रेलिगेसन जोनबाट बाहिर निस्कने लक्ष्यमा हुनेछ।
यस्तै चौंथो स्थानको आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेससंग खेल्दैछ । आर्सनल क्रिस्टललाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ । आर्सनलको ६६ अंक छ ।
अर्को खेलमा म्यानचेस्टर युनाईटेडले एभर्टनसंग उसैको मैदानमा खेल्नेछ । लिगको छैटौं स्थानमा रहेको युनाईटेड घरेलु टोलीलाई हराएर शीर्ष पाँचमा पुग्न चाहन्छ ।