एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आफुले सबै खेल खेल्ने बताएका छन् ।
भारतमा जारी १२ औं संस्करणको आईपीएलमा व्यस्त रहेका सन्दीपले यस सिजन आफुले ७ देखि ८ खेल खेल्ने मौका पाएमा अर्को सिजन पुरै खेल खेल्नेमा आफु विश्वस्त रहेको बताए ।
'गत सिजन मैले ३ खेल खेलेको थिए र अहिले त्यो भन्दा धेरै खेल खेल्दै छु,' शनिबार राति किंग्स इलाभेन पन्जाबलाई पराजित गरेपछि सन्दीपले भने, 'मलाई विश्वास छ कि यदि मैले यो बर्ष ७/८ खेल खेल्ने मौका पाए भने अर्को सिजनमा कुनै खेल गुमाउने छैन् ।'
दिल्ली क्यापिटल्समा रहेका सन्दीपले यस सिजन पाँच खेल खेलिसकेका छन् । जसमा ८ विकेट हात पार्न सफल भएका छन् । सन्दीपले पाँचौ खेल अन्तर्गत पन्जाबविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले आईपीएलमा डेब्यु गरेपछि आफुले पछाडी फर्केर हेर्न नपरेको बताए ।
'गत सिजनको आईपीएल खेलेपछि मैले आफ्नो जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन । धेरै राष्ट्रको लिगमा उत्कृष्ट खेलेको छु र आफ्नो टिममा राम्रो गरेको छु,' सन्दीपले पत्रकार सम्मेलनमा भने ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीपले पन्जाबविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै ३ विकेट लिन सफल भएका थिए । सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिएका थिए ।
सन्दीपले पन्जाबका आक्रामक ब्याट्सम्यान क्रिस गेल, लोकेश राहुल र साम करणलाई आउट गर्न सफल भएका थिए ।
पन्जाबविरुद्धको खेलमा पहिलो २ ओभरमा महँगो साबित देखिएका सन्दीपले आफ्नो अन्तिम २ ओभरमा उत्कृष्ट कम ब्याक गरेका थिए ।
'पिचमा बल टर्न भएता पनि सीतले भिजेको कारण बलमा आफ्नो पकड बनाउन निकै गाह्रो भएको थियो,' सन्दीपले खेलबारे भने, 'तेस्रो ओभरमा क्रिस गेल र साम करणलाई आउट गराउँदा निकै खुसी थिए । गेल निकै आक्रमक ब्याटिङ गर्ने गर्छन र हिजो पनि राम्रो लयमा थिए ।'
सुरुवाती ३ खेल खेलेका सन्दीपले ४ खेलमा ५ विकेट हात पारेपछि दिल्लीले सन्दीपलाई पछिल्लो ३ खेलमा आराम गराएको दिएको थियो ।
सन्दीपले बेञ्चमा बसेर खेल हेर्दा आफुलाई नरमाइलो लाग्ने बताए । उनले टिमको जितका लागि आफुले सक्दो मेहेनत गर्ने समेत बताए ।
'बेन्चमा बसेर खेल हेर्दै आफ्नो टिमलाई समर्थन गर्नु खुसीको कुरा हो तर, कहिलेकाही भने नरमाइलो लाग्छ । हामी भन्दा हाम्रो प्रशिक्षकहरु निकै अनुभवी हुनुहुन्छ र मलाई कुन समयमा, कस्तो स्थितिमा खेलाउने उहाँहरुसंग राम्रो ज्ञान छ र सोहि अनुसार योजना बन्ने हुँदा प्लेइङ ११ मा परिवर्तन आइरहेको हुन्छ,' सन्दीपले थपे, 'तर यस्तो कुरामा म दुखी छैन् । जसरी पनि आफ्नो टिमलाई जिताउने कोसिस गर्छु र दिन प्रति दिन आफुमा निखार ल्याउने कोसिस गर्छु ।'
यस्तै सन्दीपले टिमको सेटमा परेको मौकालाई आफुले चुनौतीको रुपमा लिने गरेको बताए ।
'मैले खेल खेल्न पाउनु नपाउनु मेरो लागि ठुलो कुरा हैन तर मैले पाएको मौकामा कसरी सदुपयोग गर्छु भन्ने हो । आफुले खेलेको खेलमा राम्रो प्रदर्शन गर्दै टिमलाई जित दिलाउन सके भने मेरो लागो गर्वको कुरा हो,'सन्दीपले भने।
सन्दीपले नेपाल क्रिकेटलाई समेत धन्यवाद व्यक्त गरे । नेपालको लागि राम्रो खेल खेलेको कारण नै आफुलाई दिल्लीले अनुबन्धन गरेको सन्दीपले बताए ।