एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युरोपियन क्लब फुटबलमा नयाँ इतिहास रचेका छन् ।
इटालियन क्लब युभेन्ट्सका रोनाल्डोले युरोपका मुख्य शीर्ष ३ लिगको उपाधि जितेर नयाँ इतिहास रचेका हुन् ।
युभेन्ट्सबाट इटालियन सिरी 'ए' को उपाधि उचाल्दै रोनाल्डो तीन ठुला लिग प्रिमियर लिग, ला लिगा र सिरी 'ए' को उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् ।
शनिबार फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार आठौं पटक लिगको उपाधि जितेको थियो ।
रोनाल्डोले यसअघि म्यानचेस्टर युनाईटेडबाट इन्ग्लिश प्रिमियर लिग र रियल मड्रिडबाट स्पेनिस ला लिगाको उपाधि जितेका थिए ।
यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले आएकै सिजन सिरी 'ए' को उपाधि जितेका हुन् । र, रोनाल्डोको यो इटालीमा पहिलो उपाधि समेत हो ।
रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनै पनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन् ।