एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शनिबार उपाधि दाबेदार क्लब म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच प्रतिस्पर्धा हुँदैछ ।
सिटिको घरेलु मैदान इतिहाद स्टेडियममा घरेलु टोली र टोटेनहमबीच एक साता नबित्दै पुन: प्रतिस्पर्धा गर्न लागेका हुन् । घरेलु टोली र टोटेनहमबीचको खेल बेलुका ५:१५ मा सुरु हुनेछ ।
दुई टोलीले बुधबार च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धा गरेका थिए । जुन खेल ४–३ ले गुमाएपनि समग्रमा ४–४ को नतिजा हुँदा अवे गोलका आधारमा टोटेनहमले सेमिफाईनलमा स्थान बनाएको थियो ।
पाहुना टोली टोटेनहमविरुद्ध सिटीलाई यस खेल पनि निकै महत्वपूर्ण रहेको छ । प्रिमियर लिगको उपाधि यात्रामा सिटीलाई यस खेलले निकै महत्व राख्ने गर्छ ।
लिगको दोस्रो स्थानको सिटीले ८३ अंक जोडेको छ । २ अंकले अघि रहेको लिभरपुलको ८५ अंक छ । त्यसैले सिटी टोटेनहमलाई हराएर शीर्ष स्थानाम उक्लन चाहन्छ ।
सिटी पाहुना टोलीसंग बराबरीमा रोकिए वा पराजित भएमा लिभरपुललाई फाइदा हुनेछ । तर, सिटी पाहुना टोलीलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ । सिटीलाई च्याम्पियन्स लिगबाट बाहिरिन बाध्य बनाएको टोटेनहमविरुद्ध डर रहेको छ ।
टोटेहम पनि सिटीलाई उसैको मैदानमा हराएर शीर्ष क्लबविरुद्धको अंकमा सुधार गर्न चाहन्छ । तेस्रो स्थानको टोटेनहमको ६७ अंक रहेको छ ।
लिग अन्तर्गत शनिबार हुने अन्य खेलमा बोर्नेमाउथले फुलहम, हडर्सफिल्डले वाट्फोर्ड, वेष्ट ह्यामले लेष्टर सिटि, वुल्भ्सले ब्राईटन र न्युकासलले साउथह्याम्पटनसंग खेल्नेछ ।