काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ ।
शनिबार भएको पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले जितबाट प्रतियोगिताको सुरुवात गरेको हो ।
थाइल्याण्डको चियाङमाईमा म्यानमारले दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा अर्जुन कुमालले अविजित २६ रन बनाए । यस्तै सुवास ऐरले ११ रन बनाए । म्यानमारका काउङ क्याले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १३ ओभर २ बलमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो ।
म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।
म्यानमारलाई सस्तैमा समेट्न कप्तान विशाल बिक्रम केसीले ४ विकेट लिए ।
जितसंगै समूह 'ए' को नेपालले २ अंक जोडेको छ । र, नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
साविकको विजेता समेत रहेको नेपालले दोस्रो खेलमा बुधबार मलेसियासंग खेल्नेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।