एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ ।
शनिबार हुने पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच खेल हुनेछ ।
जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने घरेलु टोली र मुम्बईबीचको खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
घरेलु मैदानमा राजस्थान तेस्रो जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा २ जित निकालेको राजस्थान ४ अंक जोडेर सातौं स्थानमा छ ।
मुम्बई भने सातौं जितको खोजीमा हुनेछ । र, मुम्बई शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंग अंक बराबरी गर्न चाहन्छ।
दोस्रो स्थानको मुम्बईको ९ खेलबाट १२ अंक रहेको छ ।
यस्तै शनिबार हुने दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा पन्जाबको सामना गर्नेछ । पन्जाब र दिल्लीबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीपको टिम दिल्ली छैटौं जितको खोजीमा रहने छन् । दिल्लीले ९ खेलमा ५ जित निकालेको छ । १० अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ ।
पन्जाब पनि छैटौं जितको खोजीमा हुनेछ । चौंथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक नै जोडेको छ ।
पन्जाबविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना रहेको छ । तर, सन्दीप पछिल्लो ३ खेलमा दिल्लीको प्लेईङ सेटमा परेका छैनन् । सन्दीपले यस सिजन ४ खेलमा ५ विकेट हात पारेका छन् ।