नेपालगंज । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा एपीएफ क्लबले फराकिलो जित निकालेको छ ।
बिहिबार भएको खेलमा एपीएफले प्रदेश ६ लाई २३-० गोल अन्तरले पराजित गर्यो ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहेको एपीएफको जितमा दुई स्ट्राइकर अनु लामा र सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक पुरा गरे ।
लगातार दोस्रो खेलमा ह्याट्रिक गर्ने क्रममा सावित्राले ७ गोल गरिन् । यस्तै कप्तान अनुले ६ गोल गरिन् ।
यस्तै रेनुका नगरकोटी र मेनु दोङले ह्याट्रिक गरिन् । त्यसबाहेक अनिता बस्नेत र अनिता केसीले समान २ गोल गरे ।
खेलको वुमन अफ दि म्याच कप्तान अनु भईन् ।
जितसंगै समूह 'क' को एपीएफको दुई खेलबाट ६ जोडेको छ ।
यसै समूहमा रहेको आर्मीको ३ अंक भएको छ ।
बिहिबार भएको खेलमा आर्मीले प्रदेश नम्बर ४ लाई ११-० ले पराजित गर्याे । आर्मीलाई जित दिलाउन राष्ट्रिय टिमकी सदस्य शर्मिला थापा र इन्दिरा राईले ह्याट्रिक पुरा गरे ।
इन्दिराले तीन गोल गर्दा शर्मिलाले ४ गोल गरिन् । यस्तै कप्तान कृष्णा खत्रीले २ सपना लामा, भुजिंगा राई र दिपा राईले एक एक गोल गरे ।