काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत भारतीय क्लब चेन्नईयिन एफसीसंग प्रतिस्पर्धा गरेर नेपाली लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब आज नेपाल आईपुग्ने भएको छ ।
भारतीय सुपर लिग क्लब चेन्नईयिनसंग पराजित भएको मनाङ आज राति नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।
बुधबार भएको खेलमा मनाङ चेन्नईयिनसंग २-० गोल अन्तरले पराजित भएको थियो । जुन मनाङको लगातार दोस्रो हार हो ।
भारतको अहमदाबादस्थित एरेना रंगशालामा घरेलु टोलीलाई जित दिलाउन क्रिष्टोफर हेर्ड र अल्भेस मेलसनले एक एक गोल गरेका थिए ।
पहिलो हाफमा चेन्नईयिनलाई गोलरहित बराबरीमा रोकेको मनाङले दोस्रो हाफमा लगातार दुई गोल खाएको थियो ।
मनाङले दुई खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित भएको थियो ।
अब मनाङले तेस्रो खेलमा मिर्नेभा पंञ्जाबसँग मे १ मा उसैको मैदानमा खेल्नेछ ।