काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा सम्पन्न एसिया छनोटमा प्रतिस्पर्धा गरेको नेपाली यू-१९ क्रिकेट टोली भोली (शुक्रबार) स्वदेश फर्कने भएका छन् ।
विश्वकपमा छनोट हुन असफल नेपाली टोली शुक्रबार साँझ नेपाल आईपुग्ने नेपाली टोलीका टिम म्यानेजर रमण शिवाकोटीले जानकारी गराए । नेपाली टोली मलेसियन एयरलाइन्सबाट साँझ ५:५५ मा नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।
छनोटमा नेपाल दोस्रो भएको थियो । जसको कारण सात पटक विश्वकप खेलिसकेको नेपाल चौथो पटक विश्वकपमा पुग्न असफल भएको थियो । यस अघि नेपालले सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाएको थियो ।
नेपालले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक जोडेको थियो । युएई ५ खेलमा शतप्रतिशत जितसहित विश्वकपमा छनोट भएको थियो ।
छनोटमा नेपालले बिहिबार भएको अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराएको थियो ।
छनोटमा सुखद सुरुवात गरेको नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । उक्त हार नै नेपालको लागि सबैभन्दा घातक बनेको थियो ।
यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र चौंथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।