काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।
बिहिबार भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको हो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि रित र पवनले ९३ रनको साझेदारी गरेका थिए । रित ६२ रनमा आउट हुँदा पवनले ५३ रन बनाए । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए ।
कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर ४ बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।
कुवेतका लागि नोमन बुद्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए ।
नेपालका कप्तान रोहित कुमार पौडेलले ३ विकेट लिए । यस्तै कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २/२ विकेट लिए ।
कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक जोड्यो ।
योसंगै सात पटक विश्वकप खेलिसकेको नेपाल चौथो पटक विश्वकपमा पुग्न असफल भएको छ । यस अघि नेपालले सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाएको थियो ।
छनोटबाट युएई ५ खेलमा शतप्रतिशत जितसहित विश्वकपमा छनोट छनोट भएको छ ।
छनोटमा सुखद सुरुवात गरेको नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । उक्त हार नै नेपालको लागि सबैभन्दा घातक बनेको थियो ।
यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र चौंथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।