काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गर्दैछ ।
थाइल्याण्डको चियाङमाईमा शनिबारबाट सुरु हुने प्रतियोगिताका लागि १४ खेलाडीसहित १७ सदसीय नेपाली टोली आज अपरान्ह थाइल्याण्ड प्रस्थान गर्नेछन् । नेपाली टोलीलाई बिहिबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाई गरे ।
साविकको विजेता समेत रहेको नेपालले प्रतियोगिताको उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
थाइल्याण्ड प्रस्थान गर्नु अघि नेपाली टोलीका मुख्य प्रशिक्षक बसन्त शाहीले तयारी छोटो भएपनि आफ्नो टिम उपाधि रक्षा गर्न सक्षम रहेको बताए ।
‘गत वर्ष हामी च्याम्पियन बन्न सफल भएका थियौं । त्यसैले हामीलाई उपाधि रक्षा गर्नुपर्ने चुनौती छ,' प्रशिक्षक शाहीले भने, 'छोटो तयारी भएपनि टिम सन्तुलित बनेको छ । हामी उपाधि डिफेन्स गर्न सक्षम छौं ।'
यस्तै प्रशिक्षक शाहीले खेलाडीले छोटो समयमा निकै मेहेनत गरेको समेत बताए । उनले आफ्नो टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष बलियो रहेको समेत बताए ।
प्रतियोगिताका लागि नेपालले गत साता सम्पन्न यू–१६ क्रिकेट लिगबाट खेलाडी छनोट गरेको थियो । नेपालले बिशाल बिक्रम केसीको कप्तानीमा टोलीको घोषणा समेत गरिसकेको छ ।
पहिलो पटक नेपाली टोलीको कप्तानी सम्हालेका बिशालले प्रतियोगिता जित्न आफुहरु आत्मविश्वासका साथ खेल्ने बताए ।
'टिम राम्रो छ । उपाधि जित्न हामी सक्षम छौं । तर, हामी धेरै आत्मविश्वासी भने बन्ने छैनौं,' कप्तान बिशालले भने ।
नेपालले पहिलो खेलमा म्यानमारसंग प्रतिस्पर्धा गर्नेछ । समूह 'ए' मा रहेको नेपालले म्यानमारसंग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
नेपालको समूहमा अन्य दुई टोली आयोजक थाइल्याण्ड र मलेसिया रहेको छ । नेपालले दोस्रो खेलमा खेलमा मलेसियासंग अप्रिल २४ र अन्तिम खेलमा आयोजक थाइल्याण्ड अप्रिल २५ मा खेल्नेछ ।
प्रतियोगिताको समूह 'बी' मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन् ।
नेपाली टोली
बिशाल बिक्रम केसी
आशिस भट्टराई
प्रसान्त महत
अर्जुन कुमाल
दिपक बोहोरा
सुवाष ऐर
निखिल कुमार सिंह
बिशाल कुमार पटेल
कृष कार्की
तिलक राज भण्डारी
रमेश कुर्मी
रोशन दुधराज बिक
प्रसान्त सिंह
सुशान्त थापा