काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मीको फुटलब टिमले खेल सामाग्री कम्पनी केल्मीसंग दुई बर्षको प्रायोजन सम्झौता गरेको छ । घरेलु फुटबलको लोकप्रिय क्लब आर्मीले आधिकारिक खेल सामाग्रीको रुपमा केल्मी नेपालसंग प्रायोजन सम्झौता गरेको हो ।
सम्झौता अनुसार विभागीय टिम आर्मीले राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा केल्मीको जर्सी लगाएर खेल्नेछ ।
आर्मीको पुरुष र महिला फुटबल टिमले लगाउने जर्सी निशुल्क रुपमा केल्मी नेपालले उपलब्ध गराउनेछ ।
पछिल्लो समय नेपालको राष्ट्रिय पुरुष र महिला टिमलाई प्रायोजन गर्दै आएको केल्मीले घरेलु फुटबलका लोकप्रिय क्लबसंग समेत प्रायोजन गर्न लागेको छ ।
यसले यसअघि घरेलु फुटबलको सर्वाधिक लोकप्रिय र सफल क्लब मनाङ मस्र्याङ्दी क्लबसंग प्रायोजन सम्झौता गरेको थियो ।
केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले सम्झौता अनुसार आर्मीका खेलाडी तथा प्रशिक्षकले लगाउने आधिकारिक जर्सी केल्मी नेपालले उपलब्ध गराउने बताए ।
‘आर्मीसंग दुई बर्षको सम्झौता भएको छ । अब दुई बर्ष आर्मीले केल्मीको जर्सी लगाएर राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता खेल्नेछ ।’ उनले खेलपाटीसंग भने, ‘यसअघि उपलब्धताका आधारमा जुन सुकै ब्राण्डको जर्सी लगाउने अवस्था थियो । अब आर्मीले आधिकारिक रुपमा केल्मीको जर्सी मात्र लगाउनेछ ।’
निर्देशक न्यौपानेका अनुसार आर्मीका अफिसियलले लगाउने ट्रयाक लगायतका खेल सामाग्री भने क्लबले किन्नुपर्नेछ ।
सम्झौतासंगै आर्मीले आठौं राष्ट्रिय खेलकुद केल्मीको जर्सी लगाएर खेलेको छ ।
पछिल्लो समय घरेलु खेलकुदमा स्पेनिस खेल सामाग्री निर्माण कम्पनी केल्मीले बजार ब्यापक प्रवर्दन गर्दै अघि बढेको छ ।