एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा लिभरपुलले एएफसी पोर्टोलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
पोर्टोको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा फराकिलो अन्तरको जित निकाल्दै लिभरपुलले सेमिफाईनलमा स्पेनिस महारथी बार्सिलोनासंगको भिडन्त पक्का गरेको हो ।
दोस्रो लेगको खेलमा ४–१ को नतिजा निकालेको लिभरपुल समग्रमा ६–१ को नतिजा सहित अन्तिम ४ मा प्रवेश गर्यो ।
घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा लिभरपुललाई २–० गोल अन्तरको अग्रता थियो ।
खेलमा अग्रता पाहुना टोली लिभरपुलले साडियो मानेको गोलबाट लिएको थियो । २६ औ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ६५ औ मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए ।
घरेलु टोलीका लागि मिलिटोले ६९ औ मिनेटमा गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए । तर रोबर्टो फिर्मिन्होले ७७ औ मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । खेल सकिन ६ मिनेट अगाडी भान डिजिकले गोल गर्दै प्रिमियर लिग क्लबको जित सुनिश्चित गरे ।
लिभरपुलले सेमिफाईनलको पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नेउ क्यापमा अप्रिल ३० मा खेल्नेछ ।