एजेन्सी । टोटेनहम च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग पराजित भएपनि अवे गोलका आधारमा टोटेनहमले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा ७ गोल भएको थियो ।
दोस्रो लेग ४–३ ले गुमाएपनि टोटेनहम समग्रमा ४–४ को नतिजा सहित अवे गोलका आधारमा सेमिफाईनल प्रवेश गरेको हो । घरेलु मैदानमा भएकाे पहिलाे लेगकाे खेलमा टाेटेनहमलाइ १-० काे अग्रता प्राप्त थियाे ।
अत्यन्त रोमाञ्चक खेलमा टोटेनहमलाई भारको निर्णय समेत महत्वपुर्ण बन्यो । दोस्रो हाफको ईन्जुरी समयमा रहिम स्टर्लिङको गोलमा सिटीले जितको उत्सव समेत मनाईसकेको थियो । तर रेफ्रीले भारको प्रयोग गरेर सो गोललाई अफसाईड दिएपछि खेल टोटेनहमको पक्षमा गएको हो ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलको सुरुवाती २१ मिनेटभित्र दुवै टोलीबाट पाँच गोल भएको थियो ।
स्टर्लिङले खेलको चौथो मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । टोटेनहमका सन ह्युङ मिनले सातौ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई अप्रत्यासित २–१ को अग्रता दिलाए ।
सिटीका बर्नार्डो शिल्भाले ११ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । २१ औ मिनेटमा स्टर्लिङले गोल गर्दै पुन सिटीलाई अग्रता दिलाएका थिए ।
५९ औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई ४–२ को स्थितीमा पुर्याएका थिए । तर फर्नान्डो लाउरेन्टले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई पुन खेलमा फर्काएका थिए । थप समयमा सिटी गोल गर्न असफल भएपछि अवे गोलका आधारमा टोटेनहमले खेलमा बाजी मार्यो ।
टोटेनहमले फाईनल प्रवेशका लागि एजाक्ससंग प्रतिस्पर्धा गर्नेछ ।