काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले आज (बिहिबार) कुवेतसंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्ला ४ खेलमा ३ जित र १ हार व्यहोरेको नेपालले अन्तिम खेलमा कुवेतसंग खेल्न लागेको हो । नेपाल र कुवेतबीचको खेल बिहान ७:४५ मा सुरु हुनेछ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल कुवेतलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ ।
दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल शीर्ष स्थानको युएई भन्दा २ अंकले पछि रहेको छ । युएईको ८ अंक रहेको छ । कुवेतको पनि ६ अंक रहेको छ ।
तर, नेपालको विश्वकप यात्रा भने अन्य खेलमा भर पर्नु पर्नेछ । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्धको जितले मात्र पुग्ने छैन । नेपाललाई अन्य खेलको नतिजा आफु अनुकुल आउनु पर्ने हुन्छ ।
नेपालको विश्वकप यात्रा शीर्ष स्थानको युएई र ओमानबीचको खेलले तय गर्ने छ । उक्त खेलमा ओमानले जित निकालेमा नेपाल विश्वकपमा छनोट हुनेछ । तर, नेपालले कुवेतलाई हराउनु पर्नेछ । युएई विजयी भए नेपालको विश्वकप सपना सकिनेछ ।
नेपालले कुवेतलाई पराजित गरे र युएई ओमानसंग पराजित भएमा दुवै टोलीको अंक समान ८/८ अंक हुनेछ । यस्तोमा नेपाललाई नेट रन रेटको फाइदा हुनेछ । समान अंक भए नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्ने छ ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । उक्त हार नै नेपालको लागि सबैभन्दा घातक बनेको थियो ।
युएईसंग दोस्रो खेलमा पराजित भएपनि नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र चौंथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।