काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलमा लगातार दोस्रो हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा भारतको सुपर लिग क्लब चेन्नईयिनसंग २-० गोल अन्तरले पराजित हुँदै मनाङले दोस्रो हार व्यहोरेको हो ।
भारतको अहमदाबादस्थित एरेना रंगशालामा घरेलु टोलीलाई जित दिलाउन क्रिष्टोफर हेर्ड र अल्भेस मेलसनले एक एक गोल गरे ।
पहिलो हाफमा चेन्नईयिनलाई गोलरहित बराबरीमा रोकेको मनाङले दोस्रो हाफमा लगातार दुई गोल खाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा क्रिष्टोफरले गोल गर्दै चेन्नईयिनलाई सुरुवाती अग्रता दिलाए । लगत्तै ५३ औं मिनेटमा मेलसनले गोल गर्दै चेन्नईयिनलाई २-० को जित दिलाए ।
यो हारसंगै समूह चरण पार गर्ने मनाङको लक्ष्यमा धक्का लागेको छ । मनाङले दुई खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित भएको थियो ।
जितसंगै चेन्नईयिनले भने दुई खेलमा ४ अंक जोडेको छ । चेन्नईयिनले पहिलो खेलमा भारतीकै आई लिग विजेता मिर्नेभा पंञ्जाबसँग गोलरहित बराबरी खेलेको थियो ।
अब मनाङले तेस्रो खेलमा मिर्नेभा पंञ्जाबसँग मे १ मा उसैको मैदानमा खेल्नेछ ।