काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको दोस्रो खेलमा अहिले भारतीय क्लब चेन्नईयिनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
भारतको अहमदाबादस्थित एरेना रंगशालामा खेलको पहिलो हाफको खेल सकिदा मनाङले घरेलु टोली चेन्नईयिनसंग गोलरहित बराबरी खेलेका छन् ।
पहिलो खेलमा पराजित मनाङ घरेलु टोलीविरुद्ध पहिलो अंक जोड्ने योजनासहित मैदान उत्रिएको छ । एएफसी कपको समूह चरण पार गर्ने लक्ष्य बनाएको मनाङलाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।
पहिलो खेलमा बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित मनाङलाई दोस्रो चरणको आशा जीवित बनाउन चेन्नईयिनविरुद्ध अंक जोड्दै पर्ने आवश्यकता रहेको छ ।
चेन्नईयिनले पहिलो खेलमा भारतीकै आई लिग विजेता मिर्नेभा पंञ्जाबसँग गोलरहित बराबरी खेलेको थियो ।
होम एण्ड अवेको आधारमा हुने समूह चरणको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । त्यसका लागि मनाङलाई अबको खेलमा अंक जोड्नै पर्ने बाध्यता समेत रहेको छ ।
प्ले अफमा समूह 'इ' को विजेतासहित समूह 'डी', 'आइ' र आसियान क्षेत्रको विजेताले खेल्नेछ ।