काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरी ओम श्रेष्ठले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् ।
छनोटको दोस्रो चरणका लागि म्यानमार प्रस्थान गर्नु अघि बोल्दै मुख्य प्रशिक्षक श्रेष्ठले आफ्नो समूहमा बलियो टोलीहरु रहेपनि कडा टक्कर दिने बताए ।
‘हामीले नसकिने भन्ने छैन । उमेर समूहमा हामीले अष्ट्रेलिया, म्यानमार या उज्वेकिस्तानसँग पनि कडा चुनौती दिन सक्छौं,' अखिल नेपाल फुटबल संघ एन्फाको विदाईपछि प्रशिक्षक श्रेष्ठले भने, ‘हामीभन्दा बलियो टोलीसँग खेल्दैछौं तर डिफेन्सिभ खेलेर हामी हार्नु या ड्र गर्नु बाहेक विकल्प केही हुँदैन त्यसैले अट्याकिङ फुटबल नै खेल्नेछौं । जस्तोसुकै बलियो टिमलाई दबाब दिन सक्छौं ।’
यहिँ अप्रिल २६ बाट ३० सम्म आयोजना हुने छनोट अन्तर्गत समूह 'ए' मा रहेको नेपालले बलियो टोलीहरु अष्ट्रेलिया,उज्वेकिस्तान र म्यानमारसंग प्रतिस्पर्धा गर्नेछ ।
फिफा वरीयतामा तीनै टोली नेपालभन्दा निकै माथि रहेको छ । तर, प्रशिक्षक श्रेष्ठले छनोटका लागि नेपालले गत माघबाटै तयारी गरेको र टिम राम्रो बनेकोले वरीयताले असर नगर्ने बताए ।
‘तिनीहरु वरीयतामा धेरै अगाडि छन् तर यसले खासै फरक पार्दैन । हामीले उनीहरुलाई चुनौती दिनेछौ,’ प्रशिक्षक श्रेष्ठले थपे, ' हामीले उत्कृष्ट प्रर्दशन दिनेछौं । हाम्रो लक्ष्य भनेको छनोट भएरै आउने हो ।’
नेपाली टोलीमा राष्ट्रिय टोलीका अधिकांस खेलाडी रहेका छन् । राष्ट्रिय टोलीका सदस्य अन्जना रानामगर, सरु लिम्बु, मन्जली कुमारी योञ्जन, रश्मी कुमारी घिसिङ, रेखा पौडेल लगायतका खेलाडी टोलीमा रहेका छन् । उनीहरु टोलीमा रहेको कारण पनि टिममा आत्मविश्वास पलाएको प्रशिक्षक श्रेष्ठले बताए ।
प्रशिक्षक श्रेष्ठले आफ्ना खेलाडीको फिटनेसको कारण पनि उत्साहित रहेको बताए । ‘थाइल्याण्डमा खेल्दा हाम्रा खेलाडीहरुले प्रेसर दिएका थिए । विपक्ष खेलाडीको मसल्स फर्किने भयो तर हाम्रो खेलाडीले ९० मिनेटसम्म एउटै स्पिडमा खेल्न सके । त्यो हाम्रो राम्रो पक्ष हो,’ प्रशिक्षक श्रेष्ठले भने ।
प्रशिक्षकले पहिलो चरणको छनोटमा दायाँ विङगरको समस्या रहेको तर अहिले सबिता रानामगरको आगमनले टोली बलियो रहेको बताए ।
यस्तै यू–१९ महिला टिमकी कप्तान सरु लिम्बुले छनोटका लागि टोलीको तयारी राम्रो भएको बताईन् । उनले चीनको अभ्यासले थप टोलीमा सुधार आउने बताईन् ।
‘हामी भर्खर राष्ट्रिय टिमबाट आएको भएर टिमको तालमेलमा कमी छ त्यसलाई हामी चीनको अभ्यास खेल खेलेर पुरा गर्छाै ।’ कप्तान सरुले भनिन् ।
कप्तान सरुले पहिले टिमको फिनिसिङमा कमजोरी तर अहिले त्यसलाई सुधार गरेको बताईन् । यस्तै उनले डिफेन्स लाईन र अट्याकिङ लाइनमा पनि सुधार भएको जानकारी दिइन् ।
‘हामीले यसअघि गरेको गल्तीहरुलाई सुधार्ने मौका पाएका छौं,’ कप्तान सरुले थपिन्, ‘यू–१४ देखि संगै खेलेर आएका कारण हामीलाई एक अर्काबारे थाहा छ त्यो नै हाम्रो स्ट्रङ पक्ष हो।’
नेपालले छनोटको पहिलो खेलमा अप्रिल २६ मा अष्ट्रेलियासंग खेल्नेछ । यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।