काठमाडौं । म्यानमारमा आयोजना हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरण खेल्ने नेपाली यू-१९ महिला फुटबल टोलीको विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार २३ सदसीय खेलाडीसहितको नेपाली टोलीलाई विदाई गरेको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा एन्फाका पदाधिकारीले विदाई गरे ।
मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठको नेतृत्वमा नेपाली टोली आजै चीन जानेछन् । चीनमा नेपालले दुई अभ्यास खेल र प्रशिक्षण गर्ने छन् ।
नेपाली टोलीले चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसंग खेल खेल्नेछ । नेपाली टोली अप्रिल २३ सम्म चीनमा रहने छन् । नेपाली टोली चीनबाटै थाइल्याण्ड जाने छन् ।
दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुनेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
छनोटको समूह 'ए' मा रहेको नेपालले बलियो टोलीहरु अष्ट्रेलिया,उज्वेकिस्तान र म्यानमारसंग खेल्नेछ ।
नेपालले पहिलो खेलमा अप्रिल २६ मा अष्ट्रेलियासंग खेल्नेछ । यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।
यसअघि कार्तिक दोस्रो साता थाइल्याण्डमै भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले तीन खेलबाट ६ अंक बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ४–० गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । नेपालले प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानलाई ९–० ले पराजित गरेको थियो ।
नेपाली टोली :
गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ ।
डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर ।
मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय ।