काठमाडौं । विभागीय टिम एपीएफले फुटबल टिमकोे मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई अनुबन्धन गरेको छ । घरेलु फुटबलको कान्छो विभागीय टिम एपीएफले मुख्य प्रशिक्षकमा राजेन्द्रलाई लगातार दोस्रो सिजनका लागि क्लबमा अनुबन्धन गरेको हो ।
राजेन्द्रले नयाँ सिजनकालागि एपीएफसंग एक बर्षको सम्झौता गरेका छन् ।
‘बैशाख १ गते देखि लागु हुने गरि एपीएफसंग एक बर्षको सम्झौता गरेको छु ।’ राजेन्द्रले खेलपाटीसंग भने ।
राजेन्द्रकै नेतृत्वमा एपीएफले नयाँ सिजनको लिगसंगै घरेलु फुटबलका विभिन्न प्रतियोगितामा खेल्नेछ ।
राजेन्द्रको नेतृत्वमा एपीएफले आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा सहभागिता जनाउँदै छ ।
एपीएफ टिम राष्ट्रिय खेलकुदको डिफेन्डिङ च्याम्पियन समेत हो ।
राजेन्द्रले गत बर्ष समेत एपीएफको पुरुष टिम हेरेका थिए । उनले गत बर्ष एपीएफसंग ६ महिनाको अनुबन्धन सम्झौता गरेका थिए । राजेन्द्रकै नेतृत्वमा एपीएफले ए डिभिजन लिगमा पाँचाै स्थानमा रहेर लिगको समापन गरेको थियो ।
एएफसीका ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेन्द्रले ७१/७२ को सिजनमा थ्री स्टारलाई लिग च्याम्पियन बनाएका थिए ।