एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) राति इटालियन क्लब युभेन्ट्स र डच क्लब आयाक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
युभेन्ट्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । र, मैदान उत्रदा दुवै टोलीको लक्ष्य सेमिफाइनल पुग्नु हुनेछ ।
पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै रहेको छ । त्यसैले दुईबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
तुलनात्मक रुपमा आयाक्स भन्दा युभेन्ट्स निकै बलियो रहेको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ पाएको युभेन्ट्सलाई घरेलु मैदानमा समेत फाइदा हुनेछ ।
पहिलो लेगमा रोनाल्डोकै गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा आयाक्स खेलमा फर्किएको थियो ।
घरेलु मैदानमा भने युभेन्ट्स पहिलो लेगको गल्तिलाई सुधार गर्नेछ ।
यता, आयाक्स भने घरेलु टोलीलाई स्तब्ध बनाएर सेमिफाइनल पुग्न चाहन्छ ।
पहिलो लेगमा बराबरी खेलेको आयाक्स दोस्रो लेगमा उच्च मनोबलका साथ मैदान उत्रने छ । तर, आयाक्सलाई मुख्य चुनौती क्रिस्टियानो रोनाल्डोलाई रोक्नु नै हुनेछ ।