ललितपुर । मोफसलको रमपम झापा ११ लाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले ललित स्मृति यु – १८ फुटबल च्याम्पियनसिपको सेमिफाईनलमा स्थान बनाएको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा ब्रिगेडले झापालाई २ – १ ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निल सेन्टरमा झापाले लिएको सुरुवाती अग्रता उल्टाएर ब्रिगेडले जित निकालेको हो । ब्रिगेडको जितमा रजत तिवारीले दुई गोल गरे ।
खेलको सातौं मिनेटमा डोजहाङ लिङदेनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १४ औं मिनेटमा रजत तिवारीले गोल गर्दै ब्रिगेडलाई खेलमा फर्काए । पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा ब्रिगेडका रजतले नै व्यक्तिगत दोस्रो गोल गर्दै २ – १ को महत्वपूर्ण जित दिलाए ।
अब ब्रिगेडले फाईनल प्रवेशका लागि फ्रेन्ड्स क्लब र लुम्बिनी क्लबबीचको विजेतासंग खेल्नेछ ।