काठमाडौं । काभ्रेको बनेपामा नेपाल आईस बीबीसी कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक बनेपा ब्वाईज क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै ९ ‘ए’ साईड नकआउट फुटबल प्रतियोगिता बैशाख २० गतेदेखि जेठ २ गतेसम्म हुने जानकारी गराएको छ ।
नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपाको मैदानमा हुने प्रतियोगिताका लागि ३० टिमले नाम दर्ता गराईसकेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने क्लबका अध्यक्ष महेश कर्माचार्यले बताए ।यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही ५ हजार पाउनेछन् । अनुशासित टिमले १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता नेपाल आईस प्रा.लि को मुख्य प्रायोजनमा हुनेछ । आयोजकले नेपाल आईससंग मंगलबार नै सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
क्लबका अध्यक्ष कर्माचार्य र नेपाल आईसका सहायक म्यानेजर नबिन पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रायोजन रकम भने खुलाईएको छैन ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष कर्माचार्यले काभ्रेमा फुटबलको लोकप्रियता बढाउन र स्थानीय खेलाडी उत्पादत गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
नेपाल आईसका प्रतिनिधि पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्न प्रतियोगितालाई सहयोग गरेको बताए ।