काठमाडौं । मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता वैशाख तेस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख १८ देखि २४ सम्म आयोजना हुने जानकारी गराएको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ७ प्रदेशको ७ टिम रहनेछ । १६ वर्षमुनिका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता ३० ओभरको हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र सोहि रकम बराबरको खेल सामग्री प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार नगद र सोहि बराबरको खेल सामग्री पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र इमर्जिङ खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसर बनाएर आयोजना गर्न लागिएको हो ।