एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) राति इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।
बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । र, मैदान उत्रदा दुवै टोलीको लक्ष्य सेमिफाइनल पुग्नु हुनेछ ।
क्याम नाउमा घरेलु टोली पहिलो लेगको जितले आत्मविश्वासी हुनेछ । पहिलो लेगमा बार्सिलोनाले युनाईटेडलाई उसैको मैदानमा १-० ले हराएको थियो ।
पहिलो लेगमा बार्सिलोनाले आत्मघाती गोलबाट जित निकालेको थियो । बार्सिलोनाका लुइस स्वारेजको हेड बल डिफेन्डर लुक शलाई लाग्दै गोलमा परिणत भएको थियो ।
बार्सिलोनालाई दोस्रो लेगमा बराबरी खेले सेमिफाइनल पुग्न प्रयाप्त हुनेछ । तर, बार्सिलोना घरेलु मैदानमा युनाईटेडलाई रवाफिलो हार चखाउन चाहन्छ । घरेलु समर्थक र घरेलु मैदानको साथ पाएको बार्सिलोनाले खासै कठिन हुने छैन ।
यता, युनाईटेड भने उत्कृष्ट पुनरागमनको योजनासहित स्पेन पुगेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन युनाईटेडलाई २ भन्दा बढी गोल अन्तरको जित बाहेक अन्य विकल्प छैन ।
च्याम्पियन्स लिग अन्तर्गत नै अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको पुनरागमन जितले युनाईटेड उच्च मनोबलमा रहने छ ।
पीएसजीविरुद्ध पहिलो लेगमा २-० ले पराजित भएपछि दोस्रो लेगमा पुनरागमन गर्दै युनाईटेडले जित निकालेको थियो । युनाईटेड बार्सिलोनाविरुद्ध त्यहिँ नतिजालाई आत्मसात गर्न चाहन्छ ।
दुवै टोलीमा स्टार खेलाडीको बाहुल्यता रहेको छ । बार्सिलोनासंग लियोनल मेस्सी, लुइस स्वारेज, फिलिप कौटिन्हो लगायतका विश्व चर्चित खेलाडीको साथ रहेको छ । युनाईटेडविरुद्ध बार्सिलोनाले कप्तान मेस्सीलाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ ।
युनाईटेडसंग पाउल पोग्बा, हुवान माटा, मार्कुस राष्फोर्ड, एन्थोनी मार्सियल, रोमेलु लुकाकु, जेसे लिंगार्ड लगायतका खेलाडीको साथ रहने छ ।