काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको चौंथो खेलमा नेपालले ओमानलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ ।
शिलानगोर ट्रफ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनायो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९ रन बनाए । अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २/२ विकेट लिए ।
अघिल्ला तीन खेलमा दुई जित निकालेको नेपालले चौंथो खेलमा ओमानसंग खेल्न लागेको हो ।
नेपाल ओमानलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ । दोस्रो स्थानको नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।
ओमानलाई हराएर नेपाल शीर्ष स्थानको युनाईटेड अरब इमिरेट्स युएईमाथि दबाब सिर्जना गर्न चाहन्छ । ३ खेलमा पराजित युएईको ६ अंक रहेको छ ।
जारी छनोटमा नेपालले युएईसंग नै हार व्यहोरेको थियो । बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।
तर, नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो ।
तुलनात्मक रुपमा नेपाल भन्दा ओमान कमजोर देखिएको छ । ओमानले ३ खेलमा २ अंक जोडेको छ । तर, ओमानले नेपाललाई कडा चुनौती दिनेछ ।
नेपाल र ओमानबीच यसअघि मात्र एक पटक भेट भएको छ । जसमा नेपालले बाजी मारेको छ ।
सन् २००७ को एसीसी एलाइट कप यू-१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो । नेपाल ओमानविरुद्ध जितको इतिहासलाई समेत कायम राख्न चाहन्छ ।