एजेन्सी । घरेलु टोली मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । सोमबार भएको खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १७२ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन जोडे ।
यस्तै सूर्यकुमार यादवले २९, कप्तान रोहित शर्माले २८ र इशान किसनले २१ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहल र मोइन अलीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले ७५ रन जोड्दा अलीले ५० रन बनाए । पार्थिव पटेलले २८ रन बनाए ।
मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए ।
योसंगै मुम्बईले बैंगलोरलाई यस सिजन लगातार दोस्रो खेलमा पराजित गरेको छ । पहिलो भेटमा मुम्बईले बैंगलोरलाई ६ रनले हराएको थियो ।
जितसंगै मुम्बई ८ खेलबाट १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बैंगलोर भने ८ खेलबाट २ अंक जोडेर पुछारमा यथावत रहेको छ ।