एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई १७२ रनको लक्ष्य दिएको छ ।
वान्खडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७१ रन बनायो ।
बैंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले ७५ रन जोड्दा अलीले ५० रन बनाए । पार्थिव पटेलले २८ रन बनाए ।
मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए ।
आज दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेका छन् ।
घरेलु टोली मुम्बई बैंगलोरलाई हराएर लिगमा पाँचौ जित निकाल्ने योजनामा हुनेछ । मुम्बई ७ खेलबाट ८ अंक जोडेर लिगको चौंथो स्थानमा छ । मुम्बई बैंगलोरलाई हराएर दोस्रो स्थानको दिल्लीसंग अंक बराबरी गर्न चाहन्छ ।
यता, बैंगलोर घरेलु टोलीसंग बदला लिने योजनामा हुनेछ । जारी सिजनको पहिलो भेटमा मुम्बईले बैंगलोरलाई उसैको मैदानमा ६ रनले हराएको थियो ।
बैंगलोर उक्त हारको बदला लिंदै लिगमा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोरले ७ खेलमा मात्र १ जित निकालेको छ ।
पुछारको बैंगलोरले ७ खेलबाट २ अंक जोडेको छ । तर, बैंगलोर आज मुम्बईलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
मुम्बई र बैंगलोरबीचको पछिल्लो पाँच भेटको नतिजामा मुम्बई बलियो देखिएको छ । बैंगलोरविरुद्ध मुम्बईले मात्र एक खेल गुमाएको छ । गत सिजन बैंगलोरले मुम्बईलाई हराएको थियो ।