पाँचथर । तेस्रो संस्करणको पाँचथर गोल्डकप फुटबलको उपाधि मोरङको डाँगिहाटले जितेको छ । सोमबार भएको फाईनल खेलमा डाँगिहाटले युनाइटेड दार्जिलिङलाई ३–१ गोल अन्तरले हराएको हो ।
खेलको आठौं मिनेटमा हेमन्त थापा मगरको गोलमा डाँगिहाटले खेलमा अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा युनाइटेडका करन राईले गोल गर्दै खेल बराबरीका ल्याए ।
५१ औं मिनेटमा अर्मान भिदुमले गोल गर्दै डाँगिहाटलाई पुन अग्रता दिलाए । ५६ औं मिनेटमा संजोग राईले गोल गर्दै डाँगिहाटको जित सुनिश्चित गरे ।
प्रतियोगिताको विजेता डाँगिहाटले ४ लाख रुपैैयाँ प्राप्त ग¥यो । उपविजेता युनाईटेडले २ लाखमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा डाँगिहाटका दिनेश थापा मगर घोषित भए । उत्कृष्ट डिफेन्डरमा युनाइटेडका दिवश लिम्बु, उत्कृष्ट मिडफिल्डरमा युनाइटेडका वाङदेन तामाङ, उत्कृष्ट फरवार्डमा डाँगिहाटका संजोग राई, उत्कृष्ट कोचमा डाँगिहाटका याकुब राई र उदयीमान खेलाडीमा पाँचथर क्लबका हेमन्त दर्नाल घोषित भए ।
उत्कृष्ट सबैले जनही १० हजार रुपैंया प्राप्त गरे ।
फाइनल खेलको म्यान अफ दि म्याच डाँगिहाटका हेमन्त थापा मगर घोषित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डाँगिहाटका विक्रम लिम्बू घोषित भए । उनले एक थान स्कुटर प्राप्त गरे ।