एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा घरेलु टोली मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ । मुम्बई र बैंगलोरबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
वान्खडे क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिका सुधार गर्नु हुनेछ ।
घरेलु टोली मुम्बई बैंगलोरलाई हराएर लिगमा पाँचौ जित निकाल्ने योजनामा हुनेछ । मुम्बई ७ खेलबाट ८ अंक जोडेर लिगको चौंथो स्थानमा छ । मुम्बई बैंगलोरलाई हराएर दोस्रो स्थानको दिल्लीसंग अंक बराबरी गर्न चाहन्छ ।
यता, बैंगलोर घरेलु टोलीसंग बदला लिने योजनामा हुनेछ । जारी सिजनको पहिलो भेटमा मुम्बईले बैंगलोरलाई उसैको मैदानमा ६ रनले हराएको थियो ।
बैंगलोर उक्त हारको बदला लिंदै लिगमा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोरले ७ खेलमा मात्र १ जित निकालेको छ ।
पुछारको बैंगलोरले ७ खेलबाट २ अंक जोडेको छ । तर, बैंगलोर आज मुम्बईलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
मुम्बई र बैंगलोरबीचको पछिल्लो पाँच भेटको नतिजामा मुम्बई बलियो देखिएको छ । बैंगलोरविरुद्ध मुम्बईले मात्र एक खेल गुमाएको छ । गत सिजन बैंगलोरले मुम्बईलाई हराएको थियो ।