काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई आयोजक मलेसियाले जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो ।
नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।
मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।
नेपालका पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे ।
सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल मलेसियाविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।
मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा हुनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ ।
छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ ।
यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।