फिदिम । फिदिममा जारी पाँचथर गोल्डकप फुटबलको फाइनल खेल आज (सोमबार) हुँदैछ ।
फाइनलमा युनाइटेड फुटबल क्लब दार्जिलिङ र डाँगिहाट फुटबल क्बल मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
फिदिम मा.वि.को खेल मैदानमा दुवै टोली पहिलो पटक पाँचथर गोल्डकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले आफुहरु उपाधिका लागि खेल्ने बताईसकेका छन् ।
डाँगिहाटका कप्तान विक्रम लिम्बुले आफ्नो टिममा अनुभवी र टिम सेट मिलेको कारण उपाधि हात पार्ने बताए । दार्जिलिङका कप्तान गणेश लिम्बुले झापा र विजय युथ जस्तो बलियो टिमलाई हराएको बताउँदै आफ्नो टोलीले उपाधि जितेर घर फर्कने बताए ।
दार्जिलिङले फाइनल यात्रा तय गर्दा विर्ता युनाइटेड झापा र हिमालयन शेर्पालाई पन्छाएको थियो । डाँगिहाट मोरङले मिसन युनाइटेड ताप्लेजुङ, आयोजक पाँचथर क्लब र हिमालनय शेर्पालाई हराएको थियो ।
प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख पाउने छन् । यसरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने गोलकिपर,डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले १०/१० हजार प्राप्त गर्ने छन् ।