काठमाडौं । गौरव श्रेष्ठले अन्तिम समयमा निर्णायक गोल गरेपछि आयोजक बागमती युवा क्लब तेस्रो संस्करणको राजर्षि जनक फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबार भएको क्वार्टरफाइनल खेलमा आयोजक बागमती रातोले काठमाडौँको ए डिभिजन क्लब फ्रेन्ड्सलाई १– ० गोल अन्तरले पराजित गरेको हो ।
आयोजकको जितमा एक मात्रै गोल खेलको अन्तिम मिनेटमा गौरब श्रेष्ठले गरे । उनले खेल सकिन दुई मिनेट अगाडी अमित तामाङले कर्नरतर्फबाट हानेको फ्रिकिकलाई सदुपयोग गरे ।
आयोजक क्लबको तर्फबाट राष्ट्रिय टिमका फरवार्ड विमल घर्ति मगर र डिफेन्डर आदित्य चौधरीले खेलेका थिए । आदित्य लामो समय पछाडी मैदान फर्किएका हुन् ।
यस्तै आयोजकको टिमबाट आमिर श्रेष्ठ, विश्व अधिकारी, विकास तामाङ, अमित तामाङ, जनक कार्की र गौरव श्रेष्ठ खेलेका थिए ।
जितसँगै आयोजक प्रतियोगिताको सेमिफाइलन प्रवेश गर्याे ।
भोली हुने अन्तिम क्वाटरफाइनल खेलमा पारो फुटबल क्लब भुटान र झापा ११ भिड्नेछन् । जसको विजेताले आयोजकसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
प्रतियोगिताको विजेता टिमले १० लाख नगद पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको एक उत्कृष्ट खेलाडीले एक थान मोटरबाइक प्राप्त गर्नेछ ।