बाँके। अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको चुनावी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ ।
क्यानको विधान अनुसार निर्वाचन गराउन गठन गरिएको स्वतन्त्र कमिटिका कानुनी परामर्शदातालाई पत्र लेख्दै आईसीसीले चुनावी प्रक्रियालाई लिएर प्रश्न समेत गरेको छ ।
स्वतन्त्र कमिटिको पछिल्लो बैठकले क्यानको नयाँ निर्वाचनको रोडम्याप तयार गरेको थियो । तर सहमती अनुसार तयार गरिएको रोडम्यापमा क्यानको निलम्बित कमिटिले काम अघि बढाउन नसक्दा क्रिकेट विवाद समाधान हुन सकेको छैन ।
स्वतन्त्र कमिटिले निलम्बित क्यानलाई जिल्ला क्रिकेट संघको यसअघि भएको निर्वाचनको सम्पर्क सुचना पठाउन निर्देशन दिएको थियो । सोही अनुसार नयाँ निर्वाचनको सुचना जारी गर्ने देखि निर्वाचनको नयाँ मिति तोक्ने कार्यतालिका तय भएको थियो ।
तर निलम्बित क्यानले जिल्ला निर्वाचनको सम्पर्क सुचना पठाउन ढिलाई गर्दा क्रिकेट संघको निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।
स्वतन्त्र कमिटिले निर्वाचनको कानुनी प्रक्रिया अघि बढाउने लगायत पत्राचारको सम्पुर्ण जिम्मेवारी कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठलाई दिएको छ ।
सोही अनुसार आईसीसीले श्रेष्ठलाई पत्र लेख्दै निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ ।
श्रेष्ठले नयाँ निर्वाचनको रिपोर्ट आईसकेको उल्लेख गर्दै केही हप्तामा निर्वाचनको सुचना जारी हुने खेलपाटीलाई बताए ।
‘सबै जिल्लाको कागजातहरु प्राप्त भईसकेको छ । जुन जिल्लाको कागजात प्राप्त भएको छैन, सोही जिल्लामा निर्वाचन गराउने हो ।’ उनले खेलपाटीसंग भने, ‘नयाँ निर्वाचनको रिपोर्ट आईसकेको छ । एक दुई हप्तामा सुचना निकाल्ने छौ ।’
क्यानको नयाँ विधान अनुसार निर्वाचन भएको जिल्लाहरुको कागजपत्र छानविन गरेर मान्यता दिने र प्रक्रिया नपुगेका जिल्लामा नयाँ निर्वाचन गर्ने सहमती छ ।
सोही अनुसार २० वटा जिल्ला क्रिकेट संघको निर्वाचनलाई मान्यता दिदै १३ वटा जिल्लामा पुन निर्वाचन गराउने तयारी छ । निर्वाचन हुने जिल्लामा ७ वटा जिल्लामा पुरानै सदस्यताका आधारमा निर्वाचन गर्ने र ६ वटा जिल्लामा नयाँ सदस्यता सहित निर्वाचन गर्ने बिषयमा स्वतन्त्र कमिटिले सहमती जुटाएको थियो ।
तर जिल्ला क्रिकेट संघको निर्वाचनको कागजात समयमै उपलब्ध हुन नसक्दा नयाँ चुनावी प्रक्रिया अन्यौलमा परेको छ ।
नेपाल क्रिकेट संघको निर्वाचन निष्पक्ष नभएको र क्रिकेटमा राजनीतिक हस्तक्षपको कारण देखाउँदै आईसीसीले झण्डै तीन बर्ष अघि क्यानलाई निलम्बन गरेको थियो ।
नेपाली क्रिकेटलाई निलम्बन गरेपनि आईसीसीले आफ्नै रोहबरमा नेपालको अन्तराष्ट्रिय सहभागिता भने सुनिश्चित गर्दै आएको छ ।
गत बर्षको सुरुवातमा निलम्बित क्यानले आईसीसीले गठन गरेको सल्लाहाकार कमिटिले बनाएको विधान हुबहु पारित गरेपछि क्रिकेट निलम्बनको बाटो खुलेको थियो ।
तर विवाद समाधानका अन्य प्रक्रिया अघि बढ्न नसक्दा नेपालमाथिको निलम्बन यथावत छ ।