काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब एएफसी कपको दोस्रो खेल खेल्न आज (आइतबार) भारत जाने भएका छन् ।
भारतीय सुपर लिग क्लब चेन्नईयिनविरुद्धको अवे खेलका लागि मनाङको टोली आइतबार भारत जान लागेका हुन् । मनाङको टोली अपरान्ह ४ बजे चेन्नई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
मनाङले चेन्नईयिनविरुद्ध बुधबार उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
तर, मनाङ त्यहाँको हावापानीसंग घुलमिल हुन तीन दिन अघि नै भारत जान लागेको मुख्य प्रशिक्षक छिरिङ लोप्साङले खेलपाटीलाई जानकारी दिए ।
‘हाम्रो खेल बेलुकाको समयमा हुनेछ । त्यहाँको वातावरणमा घुलमिल हुन हामी केहि दिन अघिनै जान लागेका हौँ,’ प्रशिक्षक लोप्साङले भने ।
मनाङले एएफसी खेलको पहिलो लेगमा बंगलादेशको अबहानी लिमिटेडसँग खेलेको थियो । एन्फा मैदानमा भएको उक्त खेलमा मनाङ अवहानीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
होम एण्ड अवेको आधारमा हुने समूह चरणको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो पनि पढ्नुहोस् -
चेन्नईयिनविरुद्ध खेल्न मनाङको अन्तिम तयारी (फोटो फिचर)
चेन्नईयिनविरुद्ध जितको विकल्प छैन
मनाङको दोस्रो प्रतिद्वन्दी चेन्नईयिन कस्तो ?