एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ । आइतबार दुई उपाधि दाबेदार क्लब लिभरपुल र म्यानचेस्टर सिटीले आ-आफ्ना प्रतिद्वन्दीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
लिग लिडर तथा उपाधिको मुख्य दाबेदार लिभरपुलले घरेलु मैदानमा ठुलो प्रतिद्वन्दी चेल्सीसंग खेल्दैछ । एनफिल्डमा हुने लिभरपुल र चेल्सीबीचको खेल राति ९:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल चेल्सीलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ । लिभरपुलका लागि यस खेल निकै महत्वपूर्ण समेत रहेको छ ।
चेल्सीलाई पराजित गर्न सके लिभरपुल उपाधिमा एक कदम अघि बढ्ने छ । पराजित वा बराबरी भएमा लिभरपुलको उपाधि यात्रा केहि कठिन बन्नेछ ।
लिग लिडर लिभरपुल ३३ खेलबाट ८२ अंक जोडेर शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि छ ।
यता, चेल्सी लिभरपुललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । चेल्सी लिगको शीर्ष चारको होडमा रहेको छ । शीर्ष ४ भित्र आफ्नो स्थान पक्का गर्न चेल्सी लिभरपुललाई स्तब्ध बनाउन चाहन्छ ।
चौंथो स्थानको चेल्सीको ३३ खेलबाट ६६ अंक छ ।
लिग अन्तर्गत नै आइतबार हुने पहिलो खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेससंग उसैको मैदानमा खेल्नेछ । सिटी र क्रिष्टलबीचको खेल ६:५० मा सुरु हुनेछ ।
सिटी घरेलु टोलीलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । सिटी लिग लिडर लिभरपुल भन्दा २ अंकले मात्र पछि छ । लिभरपुल भन्दा एक खेल कम खेलेको सिटीको ८० अंक छ ।
क्रिष्टल घरेलु मैदानमा सिटीलाई रोक्दै अंक तालिका सुधार गर्न चाहन्छ । १३ औं स्थानको क्रिष्टलको ३९ अंक रहेको छ ।