एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । शनिबार भएको खेलमा युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले दुवै गोल गरे । पोग्बाले दुवै गोल पेनाल्टीमा गरेका हुन् । वेष्ट ह्यामका फिलिपे एण्डरसनले एक गोल फर्काए ।
ओल्ड ट्राफोर्डमा खेलको १९ औं मिनेटमा पोग्बाले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर,खेलको ४९ औं मिनेटमा एण्डरसनले गोल गर्दै वेष्ट ह्यामलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ८० औं मिनेटमा पोग्बाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए ।
जितसंगै युनाईटेडले ३३ खेलबाट ६४ अंक जोडेको छ । युनाईटेड लिगको पाँचौ स्थानमा छ । पराजित वेष्ट ह्याम ४२ अंकसहित ११ औं स्थानमा रहेको छ ।
अन्य खेलमा बर्नेमाउथले ब्राईटनलाई ५-०, बर्नलीले कार्डिफलाई २-०, फुलहमले एभर्टनलाई २-० र साउथह्याम्पटनले वुल्भ्सलाई ३-१ ले हराएको छ ।