एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स पराजित भएको छ । शनिबार भएको खेलमा युभेन्ट्स एसपीएलसंग २-१ गोल अन्तरले पराजित भएको हो ।
एसपीएलको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ३० औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ४९ औं मिनेटमा केभिन बोनिफाजीले गोल गर्दै एसपीएललाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा सेर्गियो फ्लोकारीले गोल गर्दै एसपीएललाई २-१ को जित दिलाए ।
एसपीएलविरुद्ध क्रिस्टियानो रोनाल्डो भने मैदान उत्रिएनन् । रोनाल्डोलाई युभेन्ट्सले आराम दिएको थियो ।
यो हारसंगै कीर्तिमानी लगातार आठौं पटक लिगको उपाधि जित्न युभेन्ट्सले पुन:अर्को खेल कुर्नु परेको छ ।
शीर्ष स्थानको युभेन्ट्सले ३२ खेलबाट ८४ अंक जोडेको छ । र, युभेन्ट्स दोस्रो स्थानको नापोली भन्दा २० अंकले अघि छ । उपाधि जित्न युभेन्ट्सलाई मात्र १ अंकको आवश्यकता रहेको छ ।
युभेन्ट्सलाई हराएसंगै एसपीएल ३५ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । एसपीएलले सन् १९७५ पछि पहिलो पटक युभेन्ट्सलाई हराएको हो ।