काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो ।
क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो ।
नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो ।
डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो ।
वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । युएईका भ्रितीय अर्भिन्दले अविजित ४७ रन जोडे । यस्तै आन्स टन्डनले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका कमल सिंह ऐरी र सागर ढकालले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।
नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेलेका थिए । अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भिमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।
यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।
युएईका रिशाब मुखर्जीले ४ तथा मोहमद फाराजुदीनले ३ विकेट लिए ।
वर्षा बाधक बनेको खेलमा पराजित भएसंगै छनोटको उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो ।
नेपाललाई हराएर लगातार दोस्रो जित निकालेको युएई ४ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको कुवेतको ४ अंक नै छ ।
अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग अप्रील १५ मा खेल्नेछ ।